
झापा, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश निर्माणको लागि सकारात्मक सोच र शालीन राजनीतिमा जोड दिनुभएको छ। उहाँले “सतीको सराप होइन, बुद्धको देश” भन्ने अभिव्यक्ति दिँदै गाली र निराशाबाट देश नबन्ने स्पष्ट गर्नुभयो।
बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीमा सोमबार आयोजित धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो, “हामी र हाम्रै पालामा देश बन्छ भन्ने विश्वासका साथ सत्कर्ममा लाग्नुपर्छ।” उहाँले नेपाललाई विश्वकै अनुपम मुलुकको संज्ञा दिँदै शालीन सोचले देश निर्माण सम्भव हुने बताउनुभयो।
“राजनीतिक दलका नेतालाई गाली गरेर देश बन्दैैन,” शर्माले भन्नुभयो, “देश बनाउन राजनीतिलाई सङ्ल्याउनु आवश्यक छ। केही भएन भन्ने निराशा त्यागेर निर्माणको मान्यता स्थापित गर्नुपर्छ।”
उहाँले वर्तमान गणतान्त्रिक व्यवस्थाको बाटोबाटै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। विकासका संकेतहरूसमेत उल्लेख गर्दै उहाँले थप्नुभयो, “बाटो आयो, बिजुली आयो, पानी आयो, सिंचाइ हुँदैछ, टेलिफोन पनि आयो—यसले देश बनिरहेको देखाउँछ। ढिलो भयो, तर देश अवश्य बन्छ।”
भूमि समस्या समाधान आयोगको पहलमा उक्त कार्यक्रममा बुद्धशान्तिका १९५ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो। जुनेलीबस्तीका ८६ वर्षीय पुन्य सुवेदी, ८५ वर्षीया कौशिला अधिकारीलगायत वरिष्ठ नागरिकलाई शर्माले व्यक्तिगत रूपमा धनीपुर्जा हस्तान्तरण गर्नुभयो।
शर्माले उमेरको उत्तरार्धमा मात्रै धनीपुर्जा दिन सकिएकोमा दुख व्यक्त गर्दै अस्थिरता र अन्यौलका कारण काम सुस्त भएको उल्लेख गर्नुभयो। “काम गर्न ढिलाइ भयो, तर ढाड नसेकिने करको व्यवस्थापन गर्न सकियो, जुन राम्रो उपलब्धि हो,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कर व्यवस्थापनमा देखिएको भूमिकालाई शर्माले खुलेर प्रशंसा गर्नुभयो। उहाँले उच्च राजनीतिक संस्कार प्रदर्शन गर्दै गालीभन्दा संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।
बुद्धशान्तिमा हालसम्म ६,२०० भन्दा बढी परिवार भूमिहीन छन्। पहिलो चरणमा २१८ परिवारलाई धनीपुर्जा वितरण गर्ने लक्ष्य भए पनि राजस्व र लाभग्राहीको हस्ताक्षरको कारणले कार्यान्वयनमा कठिनाइ भएको आयोगका सदस्य चक्र शेर्माले जानकारी दिनुभयो।



