बुद्धशान्ति, ३० असार । झापाको बुद्धशान्ति गाउँपालिकामा भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । बुद्धशान्ति–४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो ।
सोमबार वडा नं. ४ कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरणको सुरुवात गरेका थिए ।
माग अनुसारको धनीपुर्जा दिलाउन गाउँपालिका कार्यालयले अझ धेरै काम गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए । उनले पालिकाका भूमिहीनहरूलाई धनीपुर्जा वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा दिएर मात्र दायित्व पूरा नहुने भन्दै त्यस्को प्रयोगको कार्यान्वयन अझ सरल बनाइदिन आग्रह गरे।
सरकारले जग्गा धनीपुर्जा दिएकोमा वडाबासीले खुशी व्यक्त गरेको वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर रायले बताए । कार्यक्रममा स्थानीय, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


