काभ्रे, ३१ असार । निरन्तरको वर्षाका कारण बीपी राजमार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ। सोमबार दिउँसो सञ्चालनमा ल्याइएको सडक आज पुनः अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन्।
उनका अनुसार सोमबार राति आएको बाढी र पहिरोका कारण रोशी–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडाको फेदीखेला र साङखोला, रोशी–११ कालढुंगा, तथा रोशी–११ र १२ को सिमानाको माम्ती खोलामा सडक कटान भएको छ। साथै, काभ्रे–सिन्धुली सिमानाको बर्खेखोला, रोशीकै पिप्ले र पानीतारे नजिकको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रहरी प्रमुख कार्कीका अनुसार पिन्थलीको लेदो हटाइसकेपछि बिरुवाडाँडाको लेदो हटाउने काम सुरु गरिएको छ। सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाउने प्रयास जारी छ, तर पहिरो हटाउन अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ।
राजमार्ग सोमबार राति ८ बजेबाट अवरुद्ध भएको हो। यसअघि पनि असार १६, २५ र २६ गते पिन्थली तथा बिरुवाडाँडामा सडक अवरुद्ध भइसकेको थियो।
यात्रु र सवारी साधनको सुरक्षाका लागि काभ्रे र सिन्धुली प्रहरीले सवारी होल्ड गरेका छन्। काभ्रेबाट सिन्धुली जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएको छ भने सिन्धुलीमा सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट लगायत स्थानमा सयौं यात्रु र सवारीसाधन होल्ड गरिएको छ।


