चितवन, ३२ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक गएराति एक भारतीय मिनी ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको छ।
मङ्गलबार राति साढे १० बजे भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनी आईचर ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्। दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार ट्रक आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


