झापा, १ साउन । राष्ट्रिय किताबखाना शाखा अधिकृत धनेश्वर प्रसाई र बिचौलिया सुदर्शन न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतको इजलासले घुस लिएको प्रमाण पुष्टि भएसँगै दुवैलाई ६ महिनाको कैद र १ लाख ५० हजार जरिवानाको सजाय सुनाएको हो । गत पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।
उनले अवकाशप्राप्त शिक्षकको पेन्सन पट्टा बनाइदिन बहाना बनाई घुस मागेको पुष्टि भएको छ । उक्त रकम बिचौलिया न्यौपानेमार्फत लिएको प्रमाण श्रव्य–दृश्य सामग्रीसहित अदालतमा पेश गरिएको थियो ।
प्रसाई एमालेनिकट निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् । अदालतले कार्यालय सहयोगी भवानी अधिकारीलाई भने सफाइ दिएको छ किनभने उनी पेन्सन पट्टा बनाउने जिम्मेवारीमा थिएनन् ।


