झापा, १ साउन । रौतहट र सिराहामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। रौतहटको राजपुर नगरपालिका–१ पिप्रा भगवानपुर टोलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मिरा देवी यादवको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।
त्यस्तै सिराहाको कर्जन्हा नगरपालिका–२ स्थित सडकमा चन्द्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र।२–०४–००१ ख ००५६ नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार भारत राजस्थान ग्राम भेड बस्ने २९ वर्षीय छयाल सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी
गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


