सुनसरी, ३ साउन। सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन २ गते सुनसरीको कोशी गाउँपालिका– १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै ईनरुवा नगरपालिका– ४ बाट बराक्षेत्र नगरपालिका– ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका– ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिससहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान( १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


