
बिर्तामोड, ५ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं साधारण सभाअन्तर्गत पहिलो र दोस्रो इकाइगत साधारण सभा सम्पन्न गरेको छ ।
पहिलो सभा असोज ३ गते इलामस्थित गौतम बुद्ध सभागृहमा सम्पन्न भयो । जहाँ इलाम, फिक्कल, नेपालटार, रांके, नयाँबजार, बिब्ल्यांटे मंगलबारे, श्रीअन्तु, पशुपतिनगर, हर्कटे र फिदिम सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी थिए । दोस्रो सभा असोज ४ गते मोरङको मंगलबारेमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष सुभाष भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका थिए । अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी ३५ करोड ९१ लाख पुगेको जानकारी दिए । ‘एक घर एक सदस्य’ अभियानअन्तर्गत यस वर्ष ५२३४ नयाँ सदस्य थपिएको उल्लेख गरे ।
कार्यकारी प्रमुख बस्नेतले संस्थाले बिना धितो तथा धितोसहित सहुलियत दरमा कर्जा उपलब्ध गराउँदै आएको र सदस्यहरूलाई उद्यमशील बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक तीर्थ भ्रमण, बाल बचत खाताका लागि स्कुल ब्याग वितरण, रातकोष सेवा, काजक्रिया सहयोग, कर्जा मिनाहा, न्यानो कपडा वितरण, खेलकुद तथा धार्मिक क्रियाकलापमा सहयोगजस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ ।
दुवै सभामा उत्कृष्ट बचतकर्ता तथा ऋणीहरूलाई नगदसहित सम्मान गरिएको छ । पहिलो सभामा ११–११ जना र दोस्रो सभामा ९–९ जना सदस्य सम्मानित भए । संस्थाको इकाइगत साधारण सभा क्रमशः अन्य सेवा केन्द्रहरूमा पनि सञ्चालन हुँदैछ ।



