झापा, ५ असोज । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतमा आगलागी भए पनि न्यायको दीप ननिभेको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले पालमै भए पनि न्यायको उज्यालो कायम राख्ने अठोटका साथ अघि बढिरहेको बताए।
पौडेलले भने, “क्षतिका कुरा कति गरौँ ? राष्ट्र नै जलेको थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका—तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्छ। न्यायको दीप निभेको छैन ।”
उनका अनुसार अदालतले भदौ २९ गतेदेखि नियमित सेवा सुरु गरिसकेको छ। देशभरका अदालतहरूबाट न्यूनतम सेवा प्रवाह भइरहेको जानकारी उनले दिए।
पौडेलले अदालतमा रहेका करिब २५ हजार मिसिलमध्ये ३ हजार मात्रै सुरक्षित रहेको जानकारी दिए। “हामीले ३ हजार जति मिसिल फेला पारेका छौँ। बाँकी २२ हजार मिसिलको प्राप्तिका लागि बार एसोसिएसन र महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ,” उनले भने।
सर्वोच्च अदालतले सूचना प्रविधिको सर्भर पुनःस्थापना गरेर पूर्ववत् रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको पनि पौडेलले जानकारी दिए। न्याय सम्पादनमा मनोबल महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सुरक्षाको प्रत्याभूति दिँदै मनोबल उच्च राख्नुपर्ने आवश्यकता औंल्याए।
इजलासहरू पालमुनि सञ्चालन गर्नुपरेको अवस्थालाई उनले विडम्बनापूर्ण भन्दै न्याय प्रणालीको पुनःस्थापनाका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे।


