
झापा, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भएसँगै सरकारको मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र भएको छ ।
सिफारिसअनुसार
उद्योग मन्त्रालयको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिइनेछ।
स्वास्थ्य मन्त्रालयमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएकी छन्।
कृषि मन्त्रालयको नेतृत्व मदन परियारले सम्हाल्नेछन्।
सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेललाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनले सम्हाल्ने भएका छन्।
यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। नयाँ मन्त्रीहरूको चयनमा विविध पृष्ठभूमिका व्यक्तित्वहरूलाई समेटिएको देखिन्छ, जसले सरकारको कार्यक्षमता र जनविश्वासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



