झापा, ६ असोज । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने परम्परा छ ।
पर्वको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ९स्१३ बजे रहेको छ। वैदिक विधिअनुसार पूजा कोठा वा दसैँ घरमा गाईको गोबरले लिपपोत गरिएको स्थानमा बालुवा वा माटो राखी त्यसमा यव ९जौ० रोपेर जमरा राख्ने परम्परा छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यवलाई विजयादशमीका दिन टीका प्रसादसँग ग्रहण गरिन्छ ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि, केही कुल परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरिन्छ । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले सूर्योदयकालमा प्रतिपदा पर्ने दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापनाको रूपमा निर्धारण गरिएको जानकारी दिए ।
नवरात्रभर दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धन ऐश्वर्यको र महासरस्वती विद्या र बुद्धिको प्रतीक मानिन्छ । दुर्गा पक्षमा चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजजस्ता राक्षसहरूलाई वध गर्न दुर्गाले लिएका नौ रूपको विशेष पूजा गरिन्छ ।
नवरात्रको नौ दिनमा नवदुर्गा — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री — को पूजा गरिन्छ। दुर्गा पूजा कुनै जात वा धर्म विशेषको नभई समस्त मानव जातिको कल्याणका लागि गरिएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।
बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा बलि पूजा गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ।
विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहणको उत्तम साइत भने बिहान ११ः५३ बजे रहेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ।
पूर्णिमाका दिन धनकी देवी महालक्ष्मीको व्रत बसिन्छ र रातभर जाग्राम गरिन्छ। धार्मिक विश्वास अनुसार जाग्राम बसेका व्यक्तिलाई लक्ष्मीले धन ऐश्वर्य प्रदान गर्ने विश्वास गरिन्छ। यसै दिन घटस्थापनामा राखिएको जमरा चोखो स्थानमा लगी विसर्जन गरिन्छ।


