झापा, ६ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको विषयमा औपचारिक अनुसन्धान सुरु गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवा र खड्काको निवासमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरिएको रकम जलेको दाबी गर्दै विभिन्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ती भिडियोमा नेपाली तथा विदेशी मुद्रा जलेको अवस्थामा देखिएको बताइएको छ ।
आइतबार विभागको टोलीले घटनास्थलमा पुगेर जलेका नोटका टुक्रा तथा खरानी संकलन गरेको छ। संकलित सामग्रीको फरेन्सिक परीक्षण गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको विभागले जनाएको छ । अधिकारीहरूका अनुसार, यदि संकलित टुक्रा र खरानी सक्कली नोट भएको पुष्टि भएमा देउवा र खड्का सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा पर्नेछन् ।
उक्त आगजनीपछि तेस्रो दिनमा मात्रै प्रहरीले दुवै नेताको घरमा बाहिरका व्यक्तिको प्रवेशमा रोक लगाएको थियो । विभागले भने घटना भएको १३ दिनपछि अनुसन्धान प्रक्रिया अघि बढाएको हो । देउवाको सचिवालयले भने निवासमा जलेका नोट भेटिएको भन्ने प्रचारलाई ‘मिथ्या र भ्रामक’ भन्दै खण्डन गरेको छ ।


