झापा, ७ असोज । आज देशभरका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा कोसी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका तथा तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोसी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी, आज राति देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा देशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ ।


