
झापा, ८ असोज । नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो । पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो ।

यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ । विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ । त्यसैगरी, ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको निर्यात भएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार र निर्यात २५ अर्ब ९ करोड ३१ लाख ३ हजार थियो । उक्त वैदेशिक व्यापारमा नेपालको व्यापारघाटा ८.५९ प्रतिशतले बढेको विभागले जनाएको छ ।

