झापा, ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सबै पक्षलाई आह्वान गरेका छन्।
सरकारले अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरिसकेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गरी काम सुरु गर्न लागेको जानकारी दिए।
उनले आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै आर्थिक पुनरुत्थानका लागि पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
मन्त्री घिसिङले पत्रकार सम्मेलनमा वाचन गरिएको लिखित विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा आह्वान गर्दछ।”


