झापा, १० असोज । दैलेखमा मोटरसाइकल दुर्घटना हुँदा एक १८ वर्षीय किशोरको मृत्यु भएको छ। कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पछाडि सवार किशोरको ज्यान गएको हो ।
मृतकको पहिचान कालिकोटको खाडाचक्र नगरपालिका–११ निवासी एडमन शाहीका रूपमा गरिएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल ट्रकमा ठोक्किएको थियो । सो क्रममा शाही सडकमा बजारिएर गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक बालाराम खड्का (४८ वर्ष, तुल्सीपुर उपमहानगरपालिका–१८, दाङ) र मोटरसाइकल चालक विपीन भारती (२३ वर्ष, खाडाचक्र नगरपालिका–११, कालिकोट) लाई नियन्त्रणमा लिएको छ ।


