झापा, १० असोज । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको रुपान्तरण अपरिहार्य भएको बताएका छन्। बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले भ्रष्टीकरणका कारण जनताले राजनीतिक दलप्रति विश्वास गुमाउँदै गएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नरहेको बताएका हुन्।
नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने स्पष्ट गर्दै भने, “जेनजी आन्दोलनले सबै पार्टीलाई विघटन गरिसकेको छ। अब समाप्त हुने कि रुपान्तरण गर्ने भन्ने बाहेक अर्को मार्ग छैन।” उनले जनतालाई अनुभूति हुने गरी परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए।
नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरूले विशेष महाधिवेशनको आवश्यकता औंल्याएको जानकारी दिए। पार्टीमा देखिएको जटिलता र कमजोरी समाधान गर्न रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको उनले बताए। साथै, पदाधिकारीहरूले आफ्नो जिम्मेवारीअनुसार जस–अपजस लिनुपर्ने प्रस्ताव आएको उल्लेख गरे।


