सुनसरी, १२ असोज । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राति २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसार–पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ । यसैगरी, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लिलादेवी रामलाई ६ किलो ८४६ ग्राम र लहान–८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।


