झापा, २९ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको चौथो अधिवेशन तथा सातौं साधारण सभा कात्तिक १४ गते हुने भएको छ। अधिवेशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिएका छन्।
झापामा शैक्षिक परामर्शका क्षेत्रमा सक्रिय करिब ५० भन्दा बढी कन्सल्टेन्सी व्यवसायीहरू इक्यान झापामा आबद्ध छन्। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने सुवेदीले बताए।
बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्डमा अधिवेशनको तयारी सुरु गरिएको इक्यान झापाका सचिव अशोक भण्डारीले जानकारी दिए। परामर्श व्यवसायलाई मर्यादित बनाउँदै व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यले इक्यान झापाको स्थापना गरिएको हो।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका कन्सल्टेन्सीहरूलाई व्यवस्थित गर्न नेपाल शैक्षिक परामर्श संघको गठन गरिएको हो। इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकटेल हुन् भने निर्वतमान अध्यक्ष मिलन ओली रहेका छन्।
संघले आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने र सहमति, सहकार्य तथा एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको जनाएको छ।


