झापा, २९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता केपी शर्मा ओलीको नेतृत्वमा असम्भव रहेको बताएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्ने संकेत गरेका हुन्।
कार्यक्रममा युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै प्रचण्डले आगामी निर्वाचनलाई माओवादी केन्द्रको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। “अबको माओवादीको लाइन भनेको चुनाव हो,” उनले स्पष्ट पारे।

उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। कार्यक्रममा सहभागी युवाहरूसँगको छलफलमा प्रचण्डले नयाँ पुस्ताले माओवादी विचारप्रति चासो देखाउन थालेको उल्लेख गरे। “अहिले मेरो जेनेरेसनका युवाहरूसँग पनि छलफल भइरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ,” उनले भने।

