कनकाई, ३० असोज । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जेष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत, उत्कृष्ट कर्मचारी र उत्कृष्ट उपभोक्तालाई सम्मान गर्दै आज समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वन समूह अन्तरगत रहेको ३० वटा टोलका एक÷एक जना गरी ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । कक्षा–७ की विद्यार्थी समीक्षा हेमरम, कक्षा–५ की जानकी पराजुली र रोस्नु हेमरमलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै, कनकाई सब डिभिजन कार्यालय सुरुंगाका कर्मचारी खगेन्द्र निरौला, वन समूहका कर्मचारी पदम निरौला र उपभोक्ता मोहन ढुंगेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथि सामुदायिक वन कोशी प्रदेश महासंघका अध्यक्ष तुलसी संग्रौला, कनकाई सब डिभिजन वन कार्यालय सुरुंगाका अधिकृत महेन्द्र पौडेल, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी, वडाध्यक्ष बलराम राई (प्रताप), वन समूहका अध्यक्ष बलराम रिसाल, संस्थापक अध्यक्ष तोयनाथ अधिकारी लगायतले उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।
साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले २०५१ सालमा सरकारले वनहरूलाई समुदायलाई हस्तान्तरण गरिरहँदा वनको अवस्था नाजुक रहेको बताउनुहुँदै अहिले वनहरूको अवस्था निकै राम्रो रहेको बताउनुभयो ।
“रुखबिरुवा नभएको नांगो डाँडालाई हरियाली बनेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक वनहरूलाई अझ परिस्कृत र राम्रो बनाउने काम भएको छ ।” स्थानीय सरकारतर्फबाट सामुदायिक वनहरुको श्रीबृद्धिमा सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । आफूसमेत सामुदायिक वनको विकासमा खटिएको अभियन्ता रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख पोखरेलले बिना सेवासुविधा वनको विकासमा काम गरेको सुनाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन कोशी प्रदेश महासंघका अध्यक्ष तुलसी संग्रौलाले नेपालमा विभिन्न मुलुकबाट बर्सेनि नौ अर्बको काठ आयात हुने गरेको बताउनुभयो । उहाँले नेपालमा उत्पादित काठ कुहिएर जाने अवस्था रहेको र विदेशी काठ आयात भइरहेको बताउनुहुँदै यस्तो तरिकाले मुलुकको समृद्धि नहुने बताउनुभयो ।
वन समूहका अध्यक्ष बलराम रिसालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै चालु आर्थिक वर्षमा १ करोड १ लाख ३४ हजार ४२७ आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । वन विकास संरक्षण तथा व्यवस्थापनतर्फ ३९ लाख ८९ हजार, गरिबी न्यूनीकरण, महिला सशक्तिकरण, उद्यमशील विकासतर्फ २१ लाख ४० हजार, सामाजिक विकास तर्फ १५ लाख ९५ हजार, प्रशासनिक खर्चतर्फ १३ लाख ३ हजार ४२७ र विविध खर्च तर्फ १० लाख ९० हजार ३९४ रहने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।
साधारणसभााम कोषाध्यक्षको प्रतिवेदन समूहकी कोषाध्यक्ष सरस्वता तामाङले गर्नुभएको थियो भने स्वागत वन समूहकी उपाध्यक्ष शारदा राईले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव नरकुमार गुरुङले गर्नुभएको थियो ।
वन समूहमा ६३१ उपभोक्ता, ५ वटा ब्लक र वनको क्षेत्रफल ७४ हेक्टर रहेको समूहका सहसचिव लोकनाथ दुलालले जानकारी दिनुभयो । पानी ट्याङ्की, वनभोज स्थल, वन हेरालु विश्रामस्थल, बाल उद्यान लगायतका पूर्वाधार विकासका लागि विभिन्न संघसंस्था तथा दाहरुको सहयोगमा निर्माण गर्ने लक्ष्य लिएको छ ।
साधारणसभामा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, वन समूहका पदाधिकारी एवम् उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । साधारणसभाको बन्द सत्रले विभिन्न विषयमा छलफल गरेर वार्षिक प्रतिवेदन सर्वसम्मत पास समेत गरेको छ ।

