झापा, १ कात्तिक । आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।
मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।
मिथिलामा चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न ‘धनतेरस’ पर्वको परम्परा चलेको पाका मैथिल बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्वलनसँगै ‘धनतेरस’ को पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।
पर्व विशेषका कारण तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ ।



