सुनसरी, १ कात्तिक । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मोबाइल अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौँ सभा सम्बोधन गर्दै कोशी मोबाइल अस्पताल सञ्चालनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समझदारी भइसकेको जानकारी दिनुभयो।
उहाँका अनुसार, चिकित्सा उपकरण र दक्ष जनशक्तिसहितको घुम्ती गाडी प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्नेछ। आवश्यक परेमा बिरामीलाई अस्पतालमा रेफर गरिने व्यवस्था हुनेछ। चिकित्सा उपकरणसहितको सवारी साधन खरिद प्रक्रिया अन्तिम चरणमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कार्कीले प्रारम्भिक चरणमा तराईका जिल्लामा सेवा सञ्चालन गरिने र आवश्यकता अनुसार पहाडी जिल्लामा पनि विस्तार गरिने सरकारको योजना रहेको बताउनुभयो। साथै, धनकुटा अस्पताललाई सय बेडको बनाइ बीपी प्रतिष्ठानका चिकित्सकलाई साप्ताहिक तथा आवासीय रूपमा राखेर सेवा दिने समझदारी भएको जानकारी दिनुभयो।
उहाँले मनमोहन विश्वविद्यालयलाई अनुसन्धानमूलक कार्यमा बढी ध्यान दिन सुझाव दिँदै आगामी वर्षदेखि सोझै बजेट पठाउने व्यवस्था गरिने पनि बताउनुभयो। यो पहलले प्रदेशस्तरीय स्वास्थ्य सेवा प्रणालीमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।


