पोर्चुगल, २ कात्तिक । वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका तनहुँका एक नेपाली युवा बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु नगरपालिका–९ पिपलपानी निवासी ३४ वर्षीय जितेन्द्र पाण्डे गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्।
पाण्डे विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनका साथी विदुर तामाङका अनुसार आइतबार राति साथीको फोन आएको भन्दै घरबाट निस्किएका पाण्डे त्यसपछि सम्पर्कमा नरहेको बताए। सोमबार काममा नआएपछि खोजी सुरु गरिएको थियो। “पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गर्दा उनले बिहान आफन्तलाई केही दिन सम्पर्कमा नहुने बताएका थिए,” तामाङले जानकारी दिए।
पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानीसहित सबै सामान उनी बस्ने कोठामै भेटिएको छ। उनको खोजीका लागि रोजगारदातामार्फत स्थानीय प्रहरीलाई मङ्गलबार नै जानकारी गराइएको छ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पाण्डे बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको र खोजबिनका लागि दूतावासले सक्दो पहल गरिरहेको जानकारी दिए। क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल पुगेका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए।
पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन्। परिवारजन चिन्तित छन् भने स्थानीय नेपाली समुदायले पनि खोजीमा सहयोग गरिरहेको छ।


