झापा, ३ कात्तिक । वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि जिन्सी तथा नगद सहयोग प्रदान गरेको छ ।
संघले १० लाख १ हजार ५ रुपैयाँ बराबरको जिन्सी तथा नगद सहयोग गरेको हो । संघले आज इलाका प्रहरी कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच फर्निचर र नगद रकम बराबरको चेक हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष धनबहादुर पंधाक, उपाध्यक्ष प्रकाश राई, महासचिव नीरकुमार खत्री (नीरन), सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रवत्ता ओमप्रकाश भट्टराई लगायत वैदेशिक रोजगार व्यवसायीको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईं, इलाका प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरेको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष धनबहादुर पन्धाकले बताउनुभयो । जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीप्रहरीलाई सहयोग गर्नु आफूहरूको दायित्व भएको उहाँले बताउनुभयो। ‘यो हाम्रो मुलुक र समाजप्रतिको दायित्व हो’, उहाँले भन्नुभयो l

संघका महासचिव निरन खत्रीले संघले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको बताउनुहुँदै इलाका प्रहरी कार्यालय पुननिर्माणसँगै हालै अबिरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारहरूलाई एक लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पुननिर्माणमा खटिनु भएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुननिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा स्थापित गर्ने मुख्य म्यान्डेट पाएको प्रहरीले म्यान्डेट अनुसारको काम गरिरहेको बताउनुभयो। आन्दोलनले कार्यालय ध्वस्त भएपछि केही दिन सेवा प्रभावित भएपनि त्यस लगत्तै शान्ति सुरक्षा कायम राख्ने काम सुचारु भएको बताउनुभयो ।


