
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ कार्यक्रम हुने भएको छ । चाहना समूह बिर्तामोड–५ र इभन एन संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते इको म्युजिक फेष्ट कार्यक्रम हुने भएको हो । स्वर पूर्ण राई दाजुभाईहरु ब्याण्डको विशेष प्रस्तुती रहने म्युजिक फेस्टमा गेष्ट आर्टिस्टका रुपमा अर्नभ वन रहने छन् ।
आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लागुऔषध दुव्र्यसनीमा फँसेका युवालाई समाजमा पुनस्र्थापित गर्ने उद्देश्यले इको म्युजिक फेष्ट गर्न लागिएको कार्यक्रम संयोजक जीवन भण्डारीले जानकारी दिनुभयो । बिर्तामोड नगर क्षेत्र पछिल्लो समय लागुऔषध प्रयोगकर्ता र कारोबार बढेको बताउनुहुँदै लागुऔषधको दलदलमा फँसेका युवालाई दलदलबाट निकाल्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रमबाट बचत भएको रकमबाट आर्थिक अवभाका कारण कुलत छोड्न सुधार गृह जान नसकेका युवालाई सुधार गृहमा लगिने उहाँले बताउनुभयो ।
चाहना समूहका सल्लाहकार मदन राईले सांगीतिक कार्यक्रमसँगै सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिने बताउनुभयो । विगतदेखि नै सामाजिक कार्यक्रम गर्दै आएको बताउनुहुँदै उहाँले सांगीतिक कार्यक्रममार्फत समाज रुपान्तरणको काम संस्थाले गर्दै आएको सुनाउनुभयो । ‘झापा जिल्ला पछिल्लो समय लागुऔषधको हब नै बन्दै गएको सबैलाई थाहा नै छ’, उहाँले भन्नुभयो, ‘यसको न्यूनीकरण गर्ने सोचका साथ कार्यक्रम गर्दै छौं ।’
चाहना समूहका अध्यक्ष कार्यक्रमबाट बचत भएको रकमले लागुऔषधको कुलतमा फँसेकाहरुलाई सहीबाटोमा ल्याउने काम गरिने भएकाले सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा ‘इको म्युजिक फेष्ट’ सांगितिक कार्यक्रमको टि सर्टसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रमका सम्पन्न गर्न ३६ वटा विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।
‘इको म्युजिक फेष्ट’का लागि ५ हजार टिकट बिक्री गर्ने लक्ष्य अनुरुप काम भइरहेको इभन इनका संस्थापक विशाल अग्रवालले बताउनुभयो । इसेवामार्फत् हालसम्म २ हजार टिकट बिक्री भइसकेको बताउनुहुँदै उहाँले कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख खर्च जानकारी दिनुभयो ।

