झापा, ४ कात्तिक । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्म जयन्तीको अवसरमा दुई जना साहित्यिक स्रष्टालाई सम्मान गरिएको छ ।
भद्रपुर–९ देवकोटा चोकस्थित देवकोटा स्मारक संरक्षण समितिले आज अग्रज साहित्यकार राजेश ढुङ्गानालाई नगद रू २० हजारसहित ‘मनोरथ दाहाल स्मृति काव्य पुरस्कार–२०८२’ प्रदान गरेको हो भने साहित्यकार गणेशप्रसाद नेपाललाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, समितिका अध्यक्ष राजु बराल, अतिथिहरु भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहाल, चन्द्रगढी सामुदायिक वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, पुरस्कार स्थापनाकर्ता परिवारका सदस्य कुमार दाहाल, नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले साहित्य क्षेत्रको श्रीवृद्धिमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । नगर कला, साहित्य तथा संगीत प्रतिष्ठान नै गठन गरेर साहित्यिक क्षेत्रको उन्ननयनमा नगरपालिकाले बर्सेनि बजेटसमेत उपलब्ध गर्दै आएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको बारेमा साहित्यकार होम सुवेदी, सम्मानित एवम् पुरस्कृत व्यक्तित्व ढुङ्गानाका व्यक्तित्वमाथि प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर र सम्मानित व्यक्तित्व नेपालको व्यक्तित्वमाथि साहित्यकार लता खरेलले प्रकाश पार्नुभएको थियो ।
देवकोटा स्मृटि पार्कमा रहेको महाकवि देवकोटाको सालिकमा माल्यार्पण समेत गरिएको कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा पार्वतचन्द्र दाहालले विभिन्न स्रष्टाका एक सय १७ थान पुस्तक देवकोटा संरक्षण समितिलाई प्रदान गर्नुभएको छ ।
समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गर्नुभएको थियो ।


