झापा, ४ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित फायरिङ चोकमा जंगली हात्तीको आक्रमणमा परी आज एक जना महिला गम्भीर घाइते भएकी छन् ।
हात्तीको आक्रमणमा परी मेचीनगर–६ फायरिङ चोककी ७४ वर्षीया उसिला राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
राईलाई आफ्नै घर अगाडि फूल टिप्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी राईलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि लाइफलाइन अस्पताल दमकमा रिफर गरिएको छ ।
हात्ती भने आक्रमणपछि स्थानीय जंगलतर्फ फर्किएको स्थानीयबासीले जनाएका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


