महोत्तरी, ६ कात्तिक । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज भैयादुज पर्व हर्षोल्लासका साथ मनाइँदै छ। दीपावलीको पाँचौं दिन, कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व मैथिल परम्परामा ‘भरद्वितीया’ वा ‘भातृद्वितीया’ नामले पनि चिनिन्छ। यस वर्ष धनतेरस शनिबार नै मनाइएकाले यमपञ्चक छ दिन लामो भएको छ, र आजको भैयादुज पर्वसँगै दीपावलीको समापन हुँदैछ।
मैथिल परम्पराअनुसार विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा निम्ता गरेर यो पर्व मनाउने चलन छ। अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले उनीहरूले स्वनिवासमै पर्व मनाउँछन्। निम्ता मान्न गएका दाजुभाइले नयाँ वस्त्र, आभूषण र कोसेली लिएर जाने परम्परा छ।
दिदीबहिनीले घरमा अरवा चामलको पिठोबाट अरिपन बनाएर त्यसको सीमाभित्र दाजुभाइलाई काठको पिरामा बसाउँछन्। टाढाबाट आएका दाजुभाइको गोडा तातोपानीले धुने र अञ्जुलीमा पिठार, पानको पात र सुपारी राखी सप्तरङ्गी टीका लगाइ दिने परम्परा छ।
संस्कृतिविद् ध्रुव रायका अनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाएको कथा नै भैयादुजको आधार हो। गीतमार्फत दिदीबहिनीले दाजुभाइको कीर्ति र वेगको कामना गर्दछन्।
बुधबार ओखलमा गोबरसँगै कुटिएको सुकेको केराउको दाना (बजरी) आज मिठाई, लड्डु वा पेडासँगै दाजुभाइलाई खुवाइन्छ। ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ भन्ने भनाइका साथ माला, फूल र चन्दन लगाएर यो विधि सम्पन्न गरिन्छ।
विधि सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई नयाँ वस्त्र, आभूषण, नगद दक्षिणा र कोसेली दिने चलन छ। अन्त्यमा दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्दछन्।


