झापा, ७ कात्तिक । बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बोलेरो गाडी खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको थियो। फर्किने क्रममा दुर्घटना भएको हो।
घाइतेहरूलाई उपचारका लागि राति नै वाकु अस्पताल पठाइएको डीएसपी कुँवरले जानकारी दिएका छन्।


