झापा, ९ कात्तिक । छठ पर्वको अवसरमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै झापामा नेपाली सेनासहितको संयुक्त सुरक्षा फौज परिचालन गरिने भएको छ।
जिल्लाका मुख्य बजारहरूमा कात्तिक ३ गतेदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती सुरु गरिएको छ। छठ पूजाको दिनमा उक्त गस्तीलाई थप सक्रिय बनाइने जिल्ला सुरक्षा समितिले जनाएको छ।
श्री अरिदमन गण चारआलीका अनुसार, दिनरात १२ सिफ्टमा १५० जना नेपाली सेनाको टोली गस्तीमा खटिएको छ। गस्ती टोलीले जुवातास, पटाका पड्काउनेजस्ता गतिविधि नियन्त्रणमा सहयोग गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले छठ पूजाको दिनमा ७ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जानकारी दिनुभयो। भिडभाड हुने भद्रपुरको मेची, कनकाईको बिरिङ, बिर्तामोडको अन्धुवा, दमकको रतुवालगायत स्थानमा संयुक्त सुरक्षाकर्मी तैनाथ गरिनेछ।
सुरक्षा व्यवस्थापन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्देशनअनुसार गरिनेछ। आवश्यकता अनुसार सशस्त्र प्रहरी पनि परिचालन गरिनेछ।
यस वर्ष झापाका करिब दुई दर्जन स्थानमा छठ पूजा आयोजना हुने तयारी भइरहेको छ। पूजा स्थलहरूमा सरसफाइ र सजावटका काम तीव्र गतिमा भइरहेको छ।


