झापा, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कअनुसार सो अवधिमा मुलुकले रू ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाखको वस्तु आयात गरेको छ। सोही अवधिमा निर्यात भने रू ७२ अर्ब ७८ करोड २८ लाखमा सीमित रहँदा कुल वैदेशिक व्यापार घाटा रू ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको हो।
छिमेकी भारतसँगको व्यापारमा नेपालले सबैभन्दा ठूलो घाटा बेहोरेको छ। भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात हुँदा निर्यात रू ५९ अर्ब १२ करोड ८३ लाखमा सीमित रह्यो। यसरी भारतसँगको व्यापार घाटा रू १ खर्ब ९९ अर्ब ७४ करोड पुगेको छ।
त्यस्तै, चीनसँगको व्यापार घाटा पनि उल्लेखनीय छ। चीनबाट रू १ खर्ब ४ अर्ब ८९ करोडको आयात हुँदा निर्यात मात्र रू १८ करोड ६४ लाखमा सीमित रह्यो, जसअनुसार घाटा रू १ खर्ब ४ अर्ब ७० करोड पुगेको छ।
नेपालले सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग गरेको छ। डेनमार्कबाट रू ४ करोड १ लाखको आयात हुँदा निर्यात रू २८ करोड ९९ लाख पुगेको छ। यसरी नेपालले डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा कमाएको हो। जर्मनी, रोमानिया, स्विडेन र लेबनानजस्ता मुलुकसँग पनि व्यापार नाफा देखिएको छ।
यस अवधिमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ। रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाखको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ। यस्तै, रू १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन पनि आयात गरिएको छ।


