झापा, १० कात्तिक । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार नगद र सुनका गहनासहित पक्राउ गरेका दुई व्यक्तिमाथि आठ दिनको म्याद थप गरेको छ।
तिहार बिदाको समयमा कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका–२ निवासी तथा हाल काठमाडौँ बसोबास गर्दै आएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक झाओ झोङलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएपछि म्याद थप गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सुनार बैंकिङ कसुरमा फरार रहेको अभिलेखसमेत फेला परेको छ।
दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट रु ६९ लाख ८५ हजार नगद, सुनका झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ।


