चितवन, १० कात्तिक l नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न परिस्थितिलाई सम्हाल्न शान्तिपूर्ण निर्वाचनमार्फत अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको जानकारी दिए। “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, चुनावको विकल्प छैन,” उहाँले स्पष्ट पार्नुभयो।

संयोजक दाहालले नेपाली काँग्रेसलगायत अन्य दलका नेताहरूसँग पनि निर्वाचनको अपरिहार्यता विषयमा छलफल भइरहेको उल्लेख गर्दै चुनावको वातावरण बनाउन सबै दलहरू लाग्नुपर्नेमा जोड दिए। “सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु,” उहाँले भन्नुभयो।
उहाँले सरकारलाई अन्य विषयमा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे। साथै, समाजवादी मोर्चामा रहेका दलहरूसँग एकताका लागि भइरहेको छलफल सकारात्मक रहेको बताउँदै यही हप्ताभित्र एकता हुने वा नहुने निष्कर्ष आउने जानकारी दिए।
संयोजक दाहालले मधेसवादी दलहरूसहित माओवादी केन्द्र मिलेर आगामी निर्वाचनमा जाने सम्भावना रहेको पनि संकेत गर्नुभयो।

