झापा, १७ कात्तिक । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन्।
पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। सचिवालयका बहुमत सदस्य—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट—उनको पक्षमा छन्। यद्यपि केन्द्रीय कमिटीमा भने ओलीको पक्षमा बहुमत देखिएको छ।
ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गर्दै उमेर हद र कार्यकाल सीमा हटाएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बनमा राखिएको विषयले पनि विवाद चर्किएको छ। पोखरेल पक्षले भण्डारीसँग परामर्श गरेर उम्मेदवारी दिने निर्णय गरेको बताइएको छ।
महाधिवेशनमा दुई प्यानल बन्ने सम्भावना बढेको छ। योगेश भट्टराईले ओलीसँग कोही नउठे आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। महाधिवेशनमा २१ सय प्रतिनिधि सहभागी हुनेछन्।


