झापा, २२ कात्तिक । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी प्रहरी जवान विजय खड्कालाई गम्भीर घाइते बनाइ फरार रहेका अभियुक्त नवराज राईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय राईलाई खोजतलासका क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले कार्तिक २० गते साँझ ६ बजे भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउपछि राईलाई कार्तिक २१ गते इप्रका अनारमनीमा ल्याई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार आन्दोलनको क्रममा भएको आक्रमणमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि जारी रहेको छ ।


