
झापा, २७ साउन । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचा एकरूप बनाउने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी निकायलाई कार्यान्वयनका लागि निर्देशन दिएको हो।
नयाँ व्यवस्थाले कार्यालयपिच्छे फरक ढाँचामा निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ। निवेदनलाई डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने व्यवस्था गरिने भएकाले आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने जनाइएको छ।
मार्गदर्शन कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। साथै, सेवाग्राहीलाई निवेदन लेख्न सहयोग गर्ने नाममा कार्यालय परिसरमा हुने अनधिकृत सेवा सहजीकरणलाई समेत निरुत्साहित गर्ने सरकारको लक्ष्य छ।


