
रौतहट, १६ मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम दुरुपयोग भएको ठहर गर्दै सात जना कर्मचारी तथा एक संस्थामाथि विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पाँचौँ स्तरका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरीसहित सात कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो।
त्यसैगरी, काठमाडौँस्थित सरिता फाउण्डेसन तथा संस्थाकी निर्देशक सरिता कुमारी साहमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। तत्कालीन मेयर सियाराम कुशवाहाको कार्यकालमा आर्थिक वर्ष २०७७र०७८ मा नगरसभाले बजेट स्वीकृत नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा सो रकम अनियमित तरिकाले भुक्तानी दिइ–लिइ नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको ठहर आयोगले गरेको छ।
आयोगले मुद्दामा सबै अभियुक्तसँग प्रति व्यक्ति ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। आरोप पत्र दायरसँगै अब प्रकरणको सुनुवाइ विशेष अदालत काठमाडौँमा हुनेछ ।


