
झापा, ३ असार । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक मंगलबार राति भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार राति करिब ८ः२० बजे पाडाजुगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएको भए पनि उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न टिपर र चालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक गुरागाईको शव हाल दमक अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


