
झापा, २६ मंसिर । झापाको कनकाई नगरपालिकास्थित ह्यापी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट प्रालिले २० भन्दा बढी आकर्षण थप गरेको छ ।
प्रालिले थप ३ बिघा क्षेत्रफलमा नयाँ र रोमाञ्चक आकर्षणहरु थप गरेको हो । फन पार्कले आज पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक आकर्षक र अन्तराष्ट्रियस्तरमा विस्तार गरेको जनाएको छ । फन पार्क सञ्चालक समितिका अध्यक्ष किरणप्रसाद शाखले मंसिर २६ गतेबाट नवीन रुपमा विकसित विस्तारित ह्यापी ल्याण्ड फन पार्कको शुभराम्भ गरेको जानकारी दिनुभयो ।
आठ वर्ष सञ्चालनको अनुभवलाई आधार बनाएर कोभिड–१९ पछि नयाँ प्रबन्धक समूहको नेतृत्वपछि पार्कमा आधुनिकीकरण, पुनःनिमाण तथा विस्तारको काम तीव्र गतिमा अघि बढाएको अध्यक्ष शाख बताउनुहुन्छ । पार्कमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको प्रबन्धक शाखले बताउनुभयो ।
पार्कमा नयाँ आकर्षण तथा विशेष सुविधाका रुपमा संगीत, प्रकाश र पानीको तालमेलमा प्रस्तुत अत्याधुनिक फाउन्टेन पार्क र ओम उच्चारण गरेर आफ्नो उmर्जा परीक्षण गर्ने नविनतम पानीको फोहोरा अर्थात ओम फाउन्टेन निर्माण गरिएको छ ।
त्यसैगरी, पार्कमा जीप साइन, रेनबो स्लाइड, रोलर कोस्टर, ड्रिफ्ट कार, ३६० डिग्री राइड, ड्राइ ट्युव स्लाइड, वेभ पुल, वाटर स्लाइड, रेन डान्स, अनपावर जीप लाइन, अनपावर रोलर कोस्टर, रोटेपिङ, कोलम्वस, चिल्ड्रेन पार्क, स्केटिङ, फिस स्पा, भीआर गेम, टिकटक पिङ लगायतका अन्य धेरै सेवाहरु उपलब्ध रहेको जनाइएको छ ।
पार्कमा सहासिक खेल समेत समावेश भएकाले टिकट काटेर प्रवेश गर्ने सबैको दुर्घटना बिमासमेत गरिएको छ । पार्कमा पूर्वी नेपालसहित देशभरका साथै भारतको पश्चिम बङ्गालसहित विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
पार्क विस्तारले स्थानीय रोजगारीमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, व्यावसायिक सम्भावनाको विस्तार जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा पार्क सञ्चालकहरुको रहेको छ । पत्रकार सम्मेलनमा पार्कका सञ्चालक रामभक्त लामा, दिनेश सिलवाल, मनेजर लक्ष्मी सापकोटाले पार्क सम्बन्धी विभिन्न जानकारी दिनुभएको थियो ।


