झापा, २४ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलीको पूजा गरी मनाइँदैछ । वर्षभरि खेतबारी जोतेर मानव हितमा योगदान पुर्याउने गोरु र हलीलाई मीठा परिकार खुवाएर आज हली तिहार मनाउने परम्परा छ ।
गोवर्द्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनुभयो ।
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका बेला गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।
धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिनुभएको थियो । यही विश्वासका आधारमा आज बली राजाको पनि पूजा आराधना गरिन्छ । तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा पनि यसैसँग जोडिएको छ ।
वर्षभरि खेतबारी जोतेर कृषि कार्यमा सहयोग गर्ने गोरुलाई आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।
त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हली तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने चलन छ । यसैले आजको दिनलाई हली तिहारका रूपमा समेत मनाउने गरिन्छ ।



