झापा, २४ कात्तिक । विकास निर्माणका आयोजना समयमा सम्पन्न नहुने र निर्माण व्यवसायीले काम अलपत्र पार्ने प्रवृत्ति बढिरहेका बेला मोरङको रतुवामाई नगरपालिकामा भने एउटा पुल निर्धारित समयभन्दा १० महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।
रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत कटनुखोलामा निर्माण गरिएको पुल सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो । नवनिर्मित २५ मिटर लामो आरसीसी टी–गर्डर पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री आचार्यले निर्धारित समयभन्दा अगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयवासीको सहकार्यको प्रशंसा गर्नुभयो । उहाँले प्रदेशमा वर्षौँदेखि अधुरा रहेका योजनालाई गति दिन सरकार सक्रिय रहेको उल्लेख गर्दै समयअगावै पुल निर्माण सम्पन्न हुनु सकारात्मक सन्देश भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशमा वर्षौँदेखि अधुरा रहेका योजनाहरूलाई गति दिन सरकार अहोरात्र खटिरहेको छ । काम नगर्नेको ठेक्का तोड्नेसम्मको निर्देशन भइसकेको अवस्थामा समयअगावै पुल बनाएर निर्माण व्यवसायीले सकारात्मक सन्देश दिएका छन् । यो पुलले स्थानीयको आवागमन र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।”
स्थानीयवासीका अनुसार वर्षायाममा कटनुखोलामा आउने बाढीका कारण विद्यार्थी तथा सर्वसाधारणले वर्षौँदेखि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै कृषि उपज ढुवानी, बजारसम्मको पहुँच र बालबालिकालाई विद्यालय आवतजावत गर्न सहज भएको छ ।
पुल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीले आफ्नो चार दशक लामो सपना पूरा भएको बताउनुभयो । भावुक हुँदै उहाँले भन्नुभयो, “२०४० सालदेखि नै हामीले यहाँ पुल बनाउन माग गर्दै आएका थियौँ । काठ र बाँसको पुल बाढीले बगाएर कयौँ पटक जोखिम भोगियो । आज आफ्नै आँखाअगाडि यति छिटो पक्की पुल बनेको देख्दा छाती गर्वले फुलेको छ, म अत्यन्तै खुसी छु ।”
कार्यक्रममा जग्गादाता अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीको परिवारलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
योजनालाई प्राथमिकतामा राखी बजेट सुनिश्चित गराउन पहल गर्नुभएका क्षेत्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले विकास निर्माणमा स्थानीयवासी र जनप्रतिनिधिबीचको समन्वयको परिणाम देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले दुई–तीन पटकसम्म बजेट परेर पनि फ्रिज भएको तीतो इतिहास थियो । हामीले निरन्तर पहल गरेर बजेट सुनिश्चित गर्यौँ । निर्माण व्यवसायी साथीहरूले जिम्मेवारीपूर्वक समयअगावै काम सम्पन्न गरिदिनुभयो । यसले समग्र रतुवामाईको विकासमा नयाँ आशा जगाएको छ ।”
उहाँले सोही क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै उक्त योजनालाई बहुवर्षीय योजनामा रूपान्तरण गर्न आफूले पहल गरिरहेको बताउनुभयो । रतुवामाई नगरपालिका क्षेत्रमा प्रदेश सरकारमार्फत विभिन्न विकास योजना सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले थप योजनाका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले पनि पुल निर्माणको काम अन्य निर्माण व्यवसायीका लागि उदाहरणीय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्षको म्याद पाएको काम १४ महिनाभित्रै सम्पन्न हुनु निकै सराहनीय हो । समयमै काम सक्ने परिपाटीलाई हामी प्रोत्साहित गर्छौँ ।”
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले जोखिमपूर्ण बाँसको पुलबाट यात्रा गर्नुपर्ने वडावासीको बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले योजना सफल बनाउन सहयोग गर्ने प्राविधिक तथा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत कुल ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँको लागतमा थानी–लेखराज–बुढाथोकी जेभीले पुल निर्माण गरेको हो । १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित पुलमा ६ मिटर क्यारिजवे तथा दुवैतर्फ १.२ मिटरका फुटपाथ निर्माण गरिएको छ ।
समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएपछि लामो समयदेखि आवागमनको समस्या भोग्दै आएका स्थानीयवासी हर्षित भएका छन् ।



