मोरङ, २४ कात्तिक । मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीया कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्र रहेका छन् । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे ४० वर्षीय बुधराम सोरेनको टाउकोमा बास्के र मिश्रले मिलेर रड प्रहार गरेका थिए । रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको रडसहित प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । घटनापछि फरार रहेकी बास्केलाई भने सोमबार बिहान खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।



