सन्तोष शर्मा
झापा, २४ कात्तिक । झापाको पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८३÷०८४ को असोज महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात, निर्यात तथा कुल वैदेशिक व्यापारको परिमाण घटेको तथ्याङ्कले देखाएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज महिनामा पूर्वी नाका काँकरभिट्टाबाट २२ अर्ब ३९ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को असोज महिनामा ८४ अर्ब ८९ करोड ७९ लाख ६७ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

त्यस्तै, काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्षको असोजमा ९ अर्ब ३३ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब ६३ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको कार्यालयले वेभसाइडमा प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।

आयात र निर्यात दुवैमा कमी आएसँगै व्यापार घाटामा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षको असोज महिनामा नेपालको व्यापार घाटा १३ अर्ब ५ करोड ७२ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४९ अर्ब २५ करोड ८२ लाख ७१ हजार रुपैयाँ थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको असोज महिनामा नेपालको कुल वैदेशिक व्यापार ३१ अर्ब ७३ करोड १६ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको असोज महिनामा कुल वैदेशिक व्यापार १ खर्ब २० अर्ब ५३ करोड ७६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ७० दशमलव ५७ प्रतिशत र निर्यातको हिस्सा २९ दशमलव ४३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयातको हिस्सा ७० दशमलव ४३ प्रतिशत र निर्यातको हिस्सा २९ दशमलव ५७ प्रतिशत थियो ।
तथ्याङ्कअनुसार आयात र निर्यातको अनुपात चालु आर्थिक वर्षको असोजमा २ दशमलव ४० रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात २ दशमलव ३८ थियो ।


