
झापा, २९ मंसिर । अस्ट्रेलियाको बोन्डी बिचमा आइतबार भएको अन्धाधुन्ध गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको छ। न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले घटनामा एक आक्रमणकारी पनि मारिएको पुष्टि गरेका छन्।
प्रहरी आयुक्त माल लानियोनका अनुसार आक्रमणकारीहरू बुबा–छोरा थिए । बुबा ५० वर्षीय साजिद अक्रम प्रहरीको गोली लागेर मारिएका छन् भने छोरा २४ वर्षीय नविद अक्रम गम्भीर घाइते भएका छन् ।
बीबीसीका अनुसार घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ । प्रहरीले साजिद अक्रमसँग हतियारको लाइसेन्स रहेको र उनको नाममा छवटा हतियार दर्ता गरिएको जनाएको छ । ती सबै हतियार घटनास्थलबाट बरामद गरिएको छ । साथै, दुई सक्रिय विस्फोटक उपकरण पनि भेटिएको र सुरक्षित रूपमा निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणविरुद्ध आवश्यक सबै स्रोतसाधन परिचालन गरिने बताएका छन् । उनले अस्ट्रेलियाली समाजबाट यहुदीविरोधी भावनालाई पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

