
झापा, २ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २५ अर्बको ब्यालेन्ससिट (वासलात) बनाउने लक्ष्य लिएको छ ।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मझबुत बनाउने सोच अनुरुप २०८२ देखि २०८५ सम्म २५ अर्बको वासलात बनाउने लक्ष्य लिएको हो । २०८२ आसार मसान्त सम्ममा १ लाख ९२ हजार २४० शेयर सदस्यहरु रहेको सहाराले ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ ।
संस्थाको शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ कडोर ६८ लाख, बचत १४ अर्ब १५ करोड ७६ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख र ०८२ आषाढ मसान्तसम्मको संस्थाको वासलात १८ अर्ब ५६ करोड ५८ लाख पुगेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । संस्थाले यस वर्ष ३२ करोड ५ लाख सञ्चालन मुनाफा गरेको कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।
संस्थाले यस आ.व.०८२÷०८३ को लागि ३१ वटा कार्यक्रमहरु प्रस्तावित गरेको छ । सदस्यहरुलाई उद्यमशी बनाएर रोजगारी सिर्जना गराउन एग्री बिजनेस युनिट स्थापना गरी सेवा प्रदान गरिरहेको र यस बर्षदेखि वातवरणमैत्री तथा शून्य कार्वन उत्सर्जन लागि महत्वपूर्ण कार्यहरु गर्ने जनाइएको छ ।
संस्थाले सदस्यहरुलाई क्रमशः प्रविधि मैत्री बनाउँदै लैजाने सोच अनुरुप सहारा स्मार्ट एप्स, क्यूआर, एटिम, एस.एम.एस, उपलब्ध गराउँदै आएको छ । संस्थाले यो वर्ष भौतिक पूर्वाधार अन्तरगत बिर्तामोड–२ चारपानेमा रहेको जग्गामा शैक्षिक तालिम केन्द्र र शिवशताक्षी दोमुखामा रहेको जग्गामा कृषि स्रोतकेन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
संस्थाले ०८२–०८३ आषाढ मसान्त भित्रमा २ लाख २५ हजार सदस्य र २० अर्बको वासलात बनाउँदै ४२ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।



