
झापा, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक नबन्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्घाटन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष लिङ्देनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
“विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन आवश्यक छ ।” कुनै पनि काम गर्दा ‘खानुपर्छ, चोर्नुपर्छ’ भन्ने मानसिकता त्याग्न जरुरी रहेको उहाँ बताउनहुन्छ ।
देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्नुहुँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ काम गरेर देश विकासका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । “सात–आठ वर्ष अघि कालोपत्रे सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो”, उहाँले भन्नुभयो, “अहिले हल्दिबारीका सबै मुख्य सडकहरु कलोपत्रे भइसकेका छन् ।”
पूर्वाधार निर्माण हुनुमात्र ठूला कुरा नभई त्यसको संरक्षण गर्नु ठूलो कुरा रहेको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, “सडक बनेको छ, सडकको संरक्षण र सम्बर्धन स्थानीयले गर्नुपर्छ ।”



