
झापा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई थुनामुक्त गरिनेछ ।
लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीनवटा सर्तसहित लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।
रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ ।
लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा उनले यसअघि २०८१ माघमा राखेको एक करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्नेछ । सो धरौटी रकम यसअघि फुकुवा भइसकेको र त्यसबारे उनका कानुन व्यवसायीलाई जानकारी गराइसकिएको अदालतले जनाएको छ ।
बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्न उनले बैंक जमानतसहित उच्च अदालतमा निवेदन दिएका थिए । अदालतले उक्त बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको छ । निवेदनसँगै पेस गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने अदालतको भनाइ छ ।



