
भद्रपुर, ४ पुस । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म झापामा ४९६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा उद्योगतर्फ २४३ र वाणिज्यतर्फ २५३ फर्म दर्ता भएका हुन्। त्यस्तै, उद्योगतर्फ ५०० र वाणिज्यतर्फ ४७९ उद्योग नवीकरण गरिएको छ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ ७७ उद्योग खारेज भएका छन्। सो अवधिमा १२ उद्योग स्थानान्तरण, २८ उद्योग नामसारी, १८ उद्योग नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थप गरेका छन्।
सूचना अधिकारी भट्टराईका अनुसार उद्योग बन्द गराउनेको सङ्ख्या कम भए पनि नवीकरण नगरेका धेरै उद्योग स्वतः बन्द भइसकेका छन्। उनका अनुसार नयाँ उद्योग थपिने दर बन्द हुने दरभन्दा बढी रहेको छ। कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा रु ८८ लाख ८५ हजार ६०० राजस्व सङ्कलन गरेको छ।



