
झापा, ४ पुस । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले घोषणाले मात्रै बालमैत्री अभियान सफल नहुने बताउनुभएको छ ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई बिहीबार बालमैत्री वडा घोषणा गर्नुहुँदै प्रमुख अतिथि सभामुख बिष्टले बालमैत्री अभियानलाई सफल बनाउन निरन्तर काम गर्नुपर्ने बताउनुभयो । “एक पटक घोषणा गरेर मात्र हुँदैन”, उहाँले भन्नुभयो, “यसमा निरन्तरता जरुरी छ, अझै पनि धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।”
धेरै स्थानमा बालविवाह, महिला हिंसा, मानव बचेबिखनका घटना भइरहेको बताउनुहुँदै उहाँले ती समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय युवाहरू लागुऔषधको दुव्र्र्यसनीमा फँसेर मुलुक नै विकृत अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले २०८७ सम्ममा मुलुकलाई बालमैत्री बनाउने लक्ष्य लिएको बताउनुहुँदै उहाँले भन्नुभयो, “हरेक वडा र पालिकाले यथेष्ट बजेट छुट्याएर अभियानलाई सफल बनाउन लाग्नुपर्छ ।”
कोशी प्रदेश सरकारले हल्दिबारी–४ मा बालमैत्री अभियानका लागि केही न केही बजेट छुट्याउने सभामुख बिष्टले प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य छवीलाल चुडाल पछिल्लो समय मोबाइलको कुलतले बालबालिका बढी प्रभावित हुँदै गएको बताउनुभयो । आफ्ना बालबालिकालाई अरुका बालबालिकासँग तुलना गर्ने र बढी नियन्त्रण गर्न खोज्दा बालबालिका क्षेत्रमा थप समस्या देखिएको उहाँले बताउनुभयो । “बालबालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरुरी छ”, उहाँले भन्नुभयो ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानको पहिलो खुड्किलोका रुपमा वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो । “क्रमशः पाँच वटै वडालाई पनि बालमैत्री घोषणा गर्छौं”, उहाँले भन्नुभयो, “बालमैत्री पालिका बनाउन हामी प्रतिबद्ध छौं ।”
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पूर्व गाविस सचिव मुरारी पोखरेल, बाल सञ्जाल हल्दिबारीका निवर्तमान अध्यक्ष पवन गिरी, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले २०८० सालदेखि बालमैत्री वडा बनाउने अभियान शुरु गरिएको बताउनुभयो । बालमैत्री वडा बनाउन ५१ सूचकहरु पूरा गरिएको बताउनुहुँदै उहाँले वडाका एक हजार दुई सय ६३ घरपरिवारका पाँच हजार आठ सय १० नागरिकहरुलाई बालमैत्री अभियानबारे सुसूचित गरिएको बताउनुभयो ।
हल्दिबारी–४ की वडा सदस्य भगिरथा दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सृष्टि पौडेल र युनिषा न्यौपानेले गर्नुभएको थियो ।



